सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला : नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो ।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । ‘भिर फुटाएर ट्र्याक खुलाइएको छ,’ उनले भने, ‘सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ ।’

याे पनि पढ्नुस  भारतविरुद्व आक्रामक बन्यो विप्लवको विद्यार्थी संगठन, मोदी र ओलीको पुत्ला जलाइँदै

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । चट्टानी भूगोलले केहि ढिलाइ भए पनि स्थानीयका लागि सहजरूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताए ।घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उनले बताए ।

घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिए । तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन् । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन् । यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने उनको भनाइ छ ।

याे पनि पढ्नुस  नेपाल–भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने कुरा कति सहज, कति जटिल ?

यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ । सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उहाँले बताउनुभयो । तम्बाकु भन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन् ।

याे पनि पढ्नुस  कुटपिटपछि मृत्यु प्रकरण : सेनाका हुद्दा पुर्पक्षका लागि थुनामा

घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताए । सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उनले जानकारी दिए ।

सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ ।

महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् । रासस

कमेन्ट गर्नुहोस्