काठमाडौं । भारतमा कोरोना महामारीले विकराल रुप लिएको छ ।
मंगलबारका दिनमात्रै ९१ हजार भन्दा बढी संक्रमित भएका छन् ।
योसँगै कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ५० लाख १८ हजार ३४ पुगेको छ ।
भारतमा पछिल्ला दिनहरुका प्रतिदिन औसत ९० हजार भन्दा बढी संक्रमित भइरहेका छन् ।
संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि आकासिएको छ । हालसम्म ८२ हजार ८८ जनाको मृत्यु भएको छ । मंगलबार मात्रै १२ सय ८० जनाको मृत्यु भएको हो ।
चार राज्यमा आधा संक्रमित
भारतका चार राज्यमा कूल संक्रमितको आधा संख्या रहेका छ । उच्च संक्रमण हुने राज्यहरुमा महाराष्ट्र, आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटक रहेका छन् । हेर्नुस संक्रमितको संख्या ।
यी चारवटा प्रदेशमा मात्रै २६ लाख ७१ हजार २५४जना संक्रमित रहेका छन् ।
संक्रमण हुने राज्यमध्ये सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ । शुरका दिनमा दिल्लीमा समेत उच्च संक्रमण देखिएकोमा हाल नयाँ संक्रमणको दर भने घटदै गइरहेको छ ।
कोरोनाकै कारण पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको थियो भने दर्जनौं सांसद समेत कोरोना संक्रमित बनेका छन् । सबैभन्दा ठूलो मार भने दैनिक ज्यालादारी गर्ने मजदूर, सुकुम्बासी र शहरी गरीब जनतामा परेको छ । भारतले लकडाउनमा भने खुकुलो गर्दै अधिकांश सार्वजनिक सेवा सुचारु गरिसकेको छ ।
सरकार र मिडियाको ध्यान बलिउड र सीमातिर
भारतमा कोरोना संक्रमणले आकासिंदो रुप लिएपनि सरकार र त्यहाँका मिडियाको प्राथमिकता भने अन्य विषयमा नै देखिन्छ । सरकारले कोरोना रोकथामको मुख्य जिम्मेवारी प्रदेशहरुलाई दिएको छ ।
तर पर्याप्त स्वास्थ्य सेवाको संरचना नहुनु, गरिबी र सघन बेरोजगारीका कारण कोरोना संक्रमितहरुको उपचार र उनीहरुबाट सर्ने सम्भावना रोक्न भने केन्द्र र प्रदेश सरकार असफल देखिएका छन् ।
कोरोनाले भारतीय अर्थतन्त्रमा सन् १९९१ पछिको संकट चुलिएको छ । आर्थिक वृद्धिदर नकारात्मक बिन्दुमा पुगेको छ ।
सरकारमाथि चौतर्फी आक्रोश बढन थालेपछि भारतले यति नै बेला चीनसँग लद्दाखमा जोडिएको सीमा क्षेत्रमा तनाव सिर्जना गरेको छ । आलोचकहरुले यसलाई कृत्रिम तनावको समेत संज्ञा दिएका छन् ।
वर्षौंदेखि सीमा विवाद कायमै रहेपनि कोरोनाको महामारीले उच्चरुप लिएकै बेला सीमा क्षेत्रमा चीनलाई उत्तेजित गर्ने काम गरेर भारत सरकारले जनताको ध्यान तथाकथित राष्ट्रवादतर्फ मोड्न खोजेको देखिन्छ ।
अर्कोतर्फ मिडियाका लागि बलिउडमा सुशान्त सिंहको हत्यापछि सिर्जना भएको परिस्थ्तिि नै मुख्य बनेको छ । भारतीय मिडियाको दुई तिहाई समय चीनसँग सीमा विवाद, रिया चक्रवर्ती र कंगना रनौटको चर्चा वरिपरि घुमेको छ ।