टोकियो: कोरोना भाइरसले मानिसको दैनिक जीवन नै प्रभावित पारेको छ । योसँगै मास्क लगाउनु जीवनको अनिवार्य हिस्सा समेत बन्न पुगेको छ ।
लकडाउन नभएको बेला पनि पसल या कार्यालयमा जाँदा, बाटोमा र जताततै मास्क नै मास्क देख्दा वाक्क दिक्क हुने अवस्था अहिले रहेको छ । तर जापानका एकजना डिजाइनरले भने यो मानसिक अवस्थालाई रोमाञ्चक बनाउन कसरत गरेका छन् ।
स्माइल क्याम्पेन नाम दिँदै जापानमा एउटा स्टोरले मास्क लगाएपछि हाँसेको देखिने बनाएको हो । जापानको डिस्काउन्ट स्टोर ताकेयाले स्माइल क्याम्पेनका शुरुआत गरेको हो ।
यसको उद्देश्य स्टोरका कर्मचारीलाई बढी फ्रेण्डली र विश्वासिलो देखाउनु रहेको छ । त्यसका लागि स्टोरले सबै कर्मचारीका लागि विशेष प्रकारको मास्क बनाएको छ ।
वास्तवमा यो मास्क लगाउने मानिस मुस्कुराएको देखिन्छ । तर मान्छे वास्तवमा मुस्कुराउने या हाँस्ने भने होइन । बरु मास्कको अगाडि पट्टि मुस्कानसहितको अनुहारको तस्वीर प्रिन्ट गरिएको हो । तर स्टोरमा काम गर्दा कर्मचारीको मुड जे जस्तो भएपनि ग्राहकले भने उसलाई मुस्कुराएको नै देख्नेछन् । यसबाट ग्राहकलाई समेत रमाईलो वातावरणमा किनमेल गर्न सकिने कम्पनीले जनाएको छ ।
यो विशेष अभियानको घोषणा स्टोरले आफ्नो ट्विटरबाट गरेको छ । स्टोरले यो मास्क आम मानिसका लागि पनि बजारमा ल्याउने बताएको छ। अहिले संसारभरि नै यो मास्कको निकै चर्चा भइरहेको छ ।