नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौंः सत्तारुढ नेकपाभित्रको विवादमा सहमति नजुटेपछि सोमबारसम्मका लागि तय स्थायी कमिटी बैठक फेरि स्थगित गरिएको छ ।

पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

१० असारमा शुरू भएको नेकपा स्थायी कमिटी बैठक पार्टीभित्र विवाद चर्किएपछि १९ असारयता बस्न बसेको छैन । शनिवार दोस्रोपटक सोमवारसम्मका लागि बैठक स्थगित भएको थियो । त्यसयता नेताहरूबीच एक्लाएक्लै र सामूहिक रूपमा चरण–चरणमा छलफल भएपनि कुनै निष्कर्षमा पुगेका छैनन् ।

याे पनि पढ्नुस  झलनाथ खनाल भन्छन्, ‘कि प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो, होइन भने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ’

सहमतिको प्रयासस्वरूप प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच सोमबार पनि छलफल हुँदैछ । दुई नेताबीच हिजो भएको छलफल आज फेरि गर्नेगरी सकिएको थियो ।

पार्टी विवाद केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने र एकता प्रक्रिया टुट्न नदिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भन्दै नेकपाका युवा नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठक निर्णायक हुने संकेत, बहुमतले निर्णय हुने सम्भावना

उता, आइतबार मात्रै पार्टीका वरिष्ठ नेता माधव नेपाल र नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीबीच भेटवार्ता भएको थियो। नेकपाको कलहबीच याङ्छीले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

आइतबार नै अध्यक्ष प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनलालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

कमेन्ट गर्नुहोस्