फिर्ता गर लिम्पियाधुरा, बरू मेरो बलि चढाइदे

नालायक बरू मेरो शिर
छिनालेर लैजा
दिन सक्दैन मेरा हिमालहरू
बरु मेरो मुटु, कलेजो लैजा
तर सुम्पिन तयार छैन म
ब्रहमदेव, प्याराताल, लालबोझी सुस्ताहरू ।

बरु लैजा टुक्राटुक्रा पारी
मेरा हात खुट्टाहरू
तर सुम्पिन सक्दैन म
विश्वलाई चिन्न सक्ने
मेरा स्वाभिमानी न्यायका आँखाहरू ।

याे पनि पढ्नुस  ‘सेना मात्र होइन परिआए नेपाली जनता नै राष्ट्रका सिपाही हुन्, सामना गर्न तयार छौं’

कति सहन सक्छु र अब त
उति बेला मेरो देश भूकम्पले
थिच्चिएको मौका पारिस्
अहिले कोरोनाले कैदी बनाएको बेला
फेरि ब्यास, गुन्जी हुँदै लिपुलेकको
मेरो शरीर लाई चिरेर
आफू परेढ खेल्ने दुस्साहस गर्दैछस् बिस्तारवादी ।

तर किन निरीह बन्यो
मेरो देशको बहादुर सरकार ?
म सोध्दैछु उसलाई पनि
पूर्वको माने भञ्ज्याङबाट
ठिङ्ग पश्चिम फर्किएर ।

याे पनि पढ्नुस  भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट

मन दौड्दै छ नयाँ मोडमा
हिल्सा, लोमान्थाङ्ग र किमाथांका
के गर्दैछ भनेर
अनि चौतर्फी मेरा सिमारेखाहरु
जङ्गे पिल्लरसङ्ग बोल्दैछन कि छैनन्?

बोल्नु पर्छ मेरो सरकार
मैले सोधेको प्रश्नमा
खोल्नु पर्छ सबै
के हुँदैछ मेरो देशको सिमानमा?

सक्दैनस् भने मेरो सरकार
लिपुलेक कालापानीमा
मलाई लगेर उभ्याइदे
फिर्ता गर लिम्पियाधुरा
बरू मेरो बलि चढाइदे ।

कमेन्ट गर्नुहोस्